
सुनसरी। हरिनगर गाउँपालिका वडा नं. ७ अन्तर्गत पर्ने कविलासा गाउँमा गाउँकै पहिलो आधुनिक मेडिकल हल – हबीब मेडिकल हल – को उद्घाटन वडाध्यक्ष मुज्जमिल खानको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ।
पछाडि परेको गाउँको अवस्थालाई मध्यनजर गर्दै स्थानीय स्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले मेडिकल हल स्थापना गरिएकोमा वडा अध्यक्ष मुज्जमिल खानले संचालकलाई धन्यवाद दिए। उनले अगाडी भने, “गाउँले शहरको प्रतीक्षा गर्नु हुँदैन, शहरको सुविधा गाउँमै ल्याउनु पर्छ भन्ने सोचका साथ हबीब मेडिकल हलको सुरुवात गरेको बताए।”
वडाध्यक्ष खानले कार्यक्रममा थपे, “स्वास्थ्य सेवा निःशुल्क वा सस्तोमा दिन सक्ने व्यवस्था मिलाउने हाम्रो प्राथमिकता हो। आवश्यक परे वडा कार्यालयसँग समन्वय गरी गरीब र बिपन्नका लागि औषधि तथा उपचारमा छुट दिने योजना पनि छ।”
हबीब मेडिकल हलमा आवश्यक औषधि, प्राथमिक उपचार सेवा, अनुभवी स्वास्थ्यकर्मी, रक्तचाप, मधुमेह जाँचजस्ता सुविधा उपलब्ध हुने जानकारी दिइएको छ।
निकट भविष्यमै प्रयोगशाला सेवा र सामान्य डाक्टरी परामर्श पनि संचालन गर्ने योजना रहेको मेडिकल व्यवस्थापकले बताए।
उद्घाटन कार्यक्रममा सहभागी भएका स्थानीयहरू अत्यन्त उत्साहित देखिन्थे। “अहिले सम्म सानो ज्वरो आए पनि बजार जानुपर्थ्यो। अब भने गाउँमै उपचार पाइने भयो, यो हाम्रो लागि गर्वको कुरा हो,” स्थानीय एक सहभागीले भनिने।
कविलासा गाउँमा स्वास्थ्य सेवा पुग्न ढिलो भए पनि, यो मेडिकल हलको शुरुवातले गाउँको विकास र जनताको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
उद्घाटन कार्यक्रममा सयौं स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो।
हबीब मेडिकल हलको शुरुवातसँगै कविलासा गाउँवासिले स्वास्थ्यको क्षेत्रमा एक महत्वपूर्ण पाइला अघि बढाएको छ।