
बिराटनगर। देवानगञ्ज गाउँपालिकामा सोमबारदेखि पाँच दिने “नेपाली सांकेतिक भाषा आधारभूत तालिम” सुरु भएको छ।
देवानगञ्ज गाउँपालिकाको आर्थिक सहयोग र नेपाल बहिरा हित तथा संरक्षण समाज, इनरुवा सुनसरीको आयोजनामा बहिरा व्यक्तिहरूको सामाजिक सहभागिता अभिवृद्धि गर्ने उद्देश्य राखेर तालिम सञ्चालन गरिएको हो।
तालिमको औपचारिक उद्घाटन कार्यक्रममा गाउँपालिकाका पदाधिकारी, सामाजिक अभियन्ताहरू, तालिमका प्रशिक्षक, सहभागी तथा स्थानीय समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उद्घाटन कार्यक्रममा बोल्दै पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुधिर साफीले बहिरा व्यक्तिहरूको अधिकार सुनिश्चित गर्न यस्ता तालिमहरूको आवश्यकता औंल्याउँदै यस्ता तालिमले बहिराहरूलाई पनि सामाजिक क्रियाकलापमा सहभागी हुन सहज हुने बताएका थिए। पालिकाले भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
नेपाल बहिरा हित तथा संरक्षण समाजका प्रतिनिधिहरूका अनुसार, तालिममा सहभागीसँग सांकेतिक भाषा सम्बन्धी आधारभूत जानकारी प्रदान गरिनेछ। यसले उनीहरूलाई बहिरा व्यक्तिहरूसँग प्रभावकारी संवाद गर्न मद्दत पुर्याउनेछ। तालिममा इच्छुक स्थानीय युवाहरू सहभागी भएका छन्।
तालिम २०८२ साल वैशाख ३ गतेदेखि वैशाख १३ गतेसम्म सञ्चालन हुनेछ।
सहभागीहरूलाई प्रमाणपत्र समेत प्रदान गरिने जनाइएको छ।
यस तालिमले बहिरा समुदायप्रति सकारात्मक सोच र व्यवहार निर्माण गर्न मद्दत गर्ने विश्वास गरिएको छ। आयोजक संस्थाहरूले यस्ता कार्यक्रममार्फत समावेशी समाज निर्माणतर्फ योगदान पुर्याउने लक्ष्य राखेका छन्।