
देवानगञ्ज । सुनसरी जिल्लाको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिका वडा नं. २ र ३ मा रहेको सहकारी हरुको सुदृढीकरण तथा सुशासन कायम गर्ने उद्देश्यले देवानगञ्ज गाउँपालिका र प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालय, इनरुवा, सुनसरीको समन्वयमा हकारी संस्थाहरूको अनुगमन गरिएको छ।
अनुगमन कार्यको नेतृत्व प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालय, इनरुवा, सुनसरीले गरेका थिए।
अनुगमन टोलीमा प्रदेश सहकारी रजिष्ट्रार प्रशिक्षण कार्यालय इनरुवाका अधिकृत हरकुलस पोखरेल, लेखा अधिकृत तथा देवानगञ्ज गाउँपालिकाको सहकारी शाखा प्रमुख जीवछ पजियारको सक्रिय सहभागिता थियो। अनुगमन टोलीले सहकारी संस्थाहरूको सञ्चालन प्रक्रिया, वित्तीय व्यवस्थापन, लेखा अभिलेख, सदस्यहरूको सहभागिता, ऋण लगानी र फिर्ता प्रणाली, सेवा प्रवाहको पारदर्शिता, बैठकहरूको नियमितता तथा कानुनी पालना जस्ता पक्षहरूमा व्यापक अध्ययन र मूल्यांकन गरेको थियो।
अनुगमन गरिएको सहकारी संस्थाहरूमा निम्न चार संस्था समावेश थिएः
१. मिलन बचत तथा ऋण सहकारी संस्था लि., देवानगञ्ज – ३
२. आर्य कृषि सहकारी संस्था लि., देवानगञ्ज – ३
३. एकता पशुपालन सहकारी संस्था लि., देवानगञ्ज – २
४. अनुपम तरकारी तथा फलफुल उत्पादक सहकारी संस्था लि., देवानगञ्ज – २
अनुगमन टोलीले संस्थाहरूको दस्तावेज संकलन, पुस्तक परीक्षण, कार्यक्रम कार्यान्वयनको समीक्षा तथा संस्थाका पदाधिकारीहरूसँग अन्तक्र्रिया गर्दै आवश्यक सुझावहरू पनि प्रदान गरेको थियो।
केही संस्थाहरूमा लेखापालको अभाव, नियमित वित्तीय प्रतिवेदनको कमी, अभिलेख अद्यावधिक नहुनु तथा सदस्यबीच कम समन्वय जस्ता कमजोरीहरू देखिएका थिए। यस्ता पक्षहरूको सुधारका लागि सहकारी संस्थाहरूलाई आवश्यक परामर्श र निर्देशन दिइएको देवानगञ्जका सहकारी शाखा प्रमुख जिवछ पजियारले बताउनु भयो।
पजियारका अनुसार, “सहकारी संस्थाहरू स्थानीय आर्थिक विकासको मेरुदण्ड हुन्। उनीहरूको कार्यशैलीमा पारदर्शिता, जवाफदेहिता र कानुनी पालना अनिवार्य छ। यो अनुगमनबाट पत्ता लागेको कमजोरी सुधार गर्न पालिकाले आवश्यक सहजीकरण गर्नेछ।”
प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका अधिकृत हरकुलस पोखरेलले संस्थाहरूको नियमित अनुगमन, क्षमता विकास तालिम, प्राविधिक सहायता र आवश्यक सुझावको माध्यमबाट प्रदेशभित्रका सहकारीहरूलाई अझ प्रभावकारी र आत्मनिर्भर बनाउने प्रतिबद्धता व्यक्त गरे।
सहकारी क्षेत्रको सुदृढीकरणका लागि गरिएको यस प्रकारको अनुगमन कार्यक्रमले संस्थाहरूको आन्तरिक प्रणालीलाई व्यवस्थित गर्ने र दीगो विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ। गाउँपालिकाले आगामी दिनहरूमा अन्य वडाहरूमा रहेका सहकारी संस्थाहरूको समेत क्रमशः अनुगमन गर्ने योजना बनाएको छ।
अनुगमनमा देवानगञ्ज गाउँपालिकाका प्रशासन शाखाका शिवशंकर मेहता, समाजसेवी युवा राकेश यादवको समेत सहभागिता रहेको थियो।