०९ साउन २०८२, शुक्रबार
25-07-2025 , Fri
×

क्यासिनोमा कँडेलमाथि खुकुरी प्रहार गर्ने घटनामा मेरो संगलतना छैन : गिरी

Logo
नमो संवाददाता प्रकाशित बुधबार, माघ ०३, २०८०

तस्विर : नमो अनलाईन

विराटनगर । भारतीय ग्राहकलाई लक्षित गरेर सञ्चालन गरिने क्यासिनोमा नेपाली नागरिकको प्रवेश प्रतिबन्ध छ ।

तर, विराटनगरका क्यासिनो भने नेपालीले नै भरिभराउ हुनेगरेका छन् ।

जुवाजन्य खेल खेलाइने क्यासिनोमा नेपालीहरूको प्रवेश खुला रहेको पछिल्लो एक घटनाले पनि प्रष्ट पार्छ ।

गत शुक्रबार मध्यराति रत्ना होटलमा रहेको सम्राट क्यासिनो बाहिर दुई नेपाली युवाबीच खुकुरी हानाहान भएको थियो ।

सम्राटमा जुवा खेलेर बाहिर निस्किएका विराटनगर–११ का ३१ वर्षीय रोनाल कँडेलमाथि खुकुरी प्रहार भएको हो ।

खुकुरीले लागेर कँडेलको टाउकोमा १२ टाँका लगाइएको छ भने देब्रे कानमा पाँच टाँका लगाइएको छ ।

उनीमाथि खुकुरी प्रहार गर्ने झापाको घैलाडुब्बा घर भइ विराटनगर–८ मा बस्दै आएका ३८ वर्षीय विक्रम थपलियालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा चलाउन अदालतबाट म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीषक हेमराज ओलीले जानकारी दिए ।

उनका अनुसार कँडेलकी पत्नीले दिएको किटानी जाहेरीका आधारमा थपलियाविरुद्ध मुद्दा चलाउन आइतबार अदालतबाट म्याद थप गरेर घटना अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको हो ।

‘घटनामा संलग्न केही मान्छे फरार छन्,’ उनले भने, ‘घटनास्थलका फुटेजहरू संकलन गरेर थप अनुसन्धान भइरहेको छ ।’

ओलीका अनुसार रोनाल र विक्रम साथी–साथी हुन् ।

सँगसँगै क्यासिनो छिरेका उनीहरूबीच पैसा हारमारको विषयमा विवाद सुरु भएको खुलेको उनको भनाइ छ ।

क्यासिनोका बाउन्सरले उनीहरूलाई बाहिर निकालेपछि उक्त विवाद खुकुरी हानाहानमा परिणत भएको थियो ।

जसमा घाइते बनेका कँडेल उपचारपछि घर फर्किएका छन् भने थपलियामाथि मोरङ अदालतबाट म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यता, यो घटनामा क्यासिनो दोषी रहेको भन्दै गिरि फाउन्डेसनको अगुवाईमा स्वतन्त्र युवा समूह, विराटनगरलगायतले मोरङ प्रशासन र मोरङ प्रहरीलाई ज्ञापनपत्र बुझाएको छ ।

प्रहरीको मिलेमतोमा कानुनविपरीत नेपालीलाई क्यासिनोमा प्रवेश गराएपछि यस्तो परिस्थिति बनेको गिरि फाउन्डेसनका अध्यक्ष अभिषेक गिरिको ठहर छ ।

‘यदि, नेपालीले क्यासिनोमा प्रवेश पाउँथेनन् भने यो घटना हुने थिएन,’ गिरि भन्छन्, ‘यसैले पनि यो घटनाको मूल जड नै क्यासिनो हो । आफ्नो फाइदाका लागि केही व्यक्तिलाई मिलाएर कानुन उल्लंघन गरी उनीहरूले नेपालीलाई प्रवेश दिलाएका छन् । यसैले क्यासिनोलाई पनि कारबाही हुनुपर्छ भन्ने हाम्रो माग हो ।’

उसो त कँडेलमाथि खुकुरी प्रहार गर्ने थपलिया गिरिको संरक्षणमा रहेको आरोप छ ।

तर, गिरिले भने कँडेल र थपलिया दुवै आफू आबद्ध कांग्रेसनिकट रहेकाले आफ्नो नाम जोडिएको हुन सक्ने बताउँदै आफू यस विषयबाट अलग रहेको सुनाए ।

‘मेरो नाम जोडेर दुष्प्रचार भइरहेको छ,’ उनले भने, ‘दुवै जना नेपाली कांग्रेसआबद्ध छन् । कांग्रेसका अरूसँग पनि मेरो चिनजान छ । उनीहरूले बाहिर झगडा गर्दा मेरो नाम जोड्नु गलत हो । मैले गर्दै गरेको सामाजिक काम असफल गराउन यसरी गलत हल्ला चलाइएको हो ।’

मोरङ प्रहरीले क्यासिनोमा जुवा खेल्न नेपालीले कसरी प्रवेश पाएभन्ने बारेमा पनि अनुसन्धान थालेको छ ।

नेपालीले क्यासिनोमा प्रवेश पाएको पुष्टि भएमा क्यासिनोमाथि पनि कारबाही हुने प्रहरीले जनाएको छ ।

‘अहिलेसम्म चाहिँ जिल्ला प्रहरी र वडा प्रहरीको टोलीले आकस्मिक र नियमित अनुगमन जारी राखेका छौं,’ ओलीले भने, ‘नेपालीले प्रवेश पाएको हालसम्म देखिएको थिएन । छानबिन गर्दा दोषी देखिएमा क्यासिनोलाई पनि जुवाजन्य गतिविधिमा कारबाही गर्छौं ।’

रत्ना होटलमा सञ्चालित ‘सम्राट’ र बिग होटलमा सञ्चालित ‘च्याम्पियन जोन’ गरी विराटनगरमा अहिले दुई क्यासिनो सञ्चालनमा छन् ।

प्रहरी प्रशासनकै मिलेमतोमा सञ्चालकले खुलेआम नेपालीलाई क्यासिनोमा जुवा खेलाउने गरेको आक्षेप लाग्ने गरेको छ ।

नेपालीको प्रवेशलाई ‘नजरअन्दाज’ गर्नका लागि सञ्चालकले प्रहरीमाथि मोटो रकम खर्चिने गरेको आरोप छ ।

यो विषयमा एकपटक ‘हेलो सरकार’ समक्ष उजुरी परेको थियो भने एकपटक विराटनगर महानगरपालिकाले अनुगमनसमेत गरेको थियो ।

तर पनि विराटनगरका क्यासिनोमा नेपालीको प्रवेश रोकिन सकेको छैन ।

प्रहरी, नेपाली ग्राहक र सञ्चालकबीच समन्वयात्मक भूमिका बनाउन सम्राट क्यासिनोका सञ्चालकले एक जना पत्रकारलाई नै जागिर दिएको छ ।

विराटनगरलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका ती पत्रकारले वर्षौंयता त्यहाँ काम गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]