०८ साउन २०८२, बिहिबार
24-07-2025 , Thu
×

आफनो कमाइको १० प्रतिशत बुबा आमाका लागि लगानी गर्नुपर्छ : मन्त्री चौधरी

Logo
नमो संवाददाता प्रकाशित बुधबार, बैशाख ०५, २०८१

तस्विर : नमो अनलाईन

विराटनगर । अब प्रत्येक व्यक्तिले आफ्नो कमाइको १० प्रतिशत आफूलाई जन्मदिने बुबा आमाका लागि छुट्याउनु पर्ने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बताउनु भएको छ । सुनसरीको गढी गाउँपालिका ६ सत्तेरझोडामा ज्येष्ठ नागरिक, गरिब, विपन्न तथा महिलाहरूलाई झुल वितरण गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो ।

‘ज्येष्ठ नागरिकको सेवा गर्न पाउनु भनेको हामी सबैका लागि गर्वको विषय हो र त्यो हाम्रो जिम्मेवारी पनि हो । अब प्रत्येक व्यक्तिले कमाइको १० प्रतिशत बाबु आमाका लागि खर्च गर्नुपर्छ’, उहाँले भन्नुभयो । ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाका निम्ति यो काम गर्न आवश्यक रहेको मन्त्री चौधरीकाे भनाइ छ । सबैभन्दा पहिले जनप्रतिनिधिबाट यो कार्यको सुरुआत गर्नुपर्ने भन्दै उहाँले बिस्तारै सबै क्षेत्रमा सुरु हुने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै अपांगता भएका व्यक्तिहरूको पक्षमा पनि यो काम अनिवार्य हुन जरुरी रहेको बताउनुभयो । कतिपय अपांगता भएका व्यक्तिहरूको अवस्था एकदमै दयनीय रहेको भन्दै उहाँले पूर्ण अपांगता भएका व्यक्तिहरूको पक्षमा उसको परिवार पनि उत्तिकै जिम्मेवार हुनुपर्ने बताउनुभयो । राज्यले पनि ऐनमार्फत विभिन्न व्यवस्था गरेर अगाडि बढेको मन्त्री चौधरीले बताउनुभयो ।

मुलुकका हरेक वर्गहरूको पक्षमा सरकारले काम गर्ने बताउँदै उहाँले महिला, ज्येष्ठ नागरिक, बालबालिका, अपांगता भएका व्यक्तिहरूको पक्षमा अत्यन्त मानवीय संवेदना जोडिएको क्षेत्रको जिम्मेवारीमा आफू रहेको भन्दै भन्नुभयाे, ‘अत्यन्तै मानव संवेदनशील मन्त्रालयको जिम्मेवारीमा सम्हालिरहेको छु । ५१ प्रतिशत महिला, ८.१३ प्रतिशत ज्येष्ठ नागरिक, ११ प्रतिशत रहेको बालबालिका, अपांगता भएका व्यक्तिहरूको २‍.२ प्रतिशत जनसंख्या रहेको वर्गको पक्षमा काम गर्नुपर्नेछ । समग्रमा महिला मन्त्रालयले गर्नुपर्ने काम धेरै छ । तर काम गर्नका लागि पर्याप्त बजेट छैन । तर पनि मैले दिइएको स्रोतसाधनलाई बढीभन्दा बढी सकारात्मक कामका पक्षमा प्रयोग गर्ने योजनामा छु ।’

महिला मन्त्रालयअन्तर्गत रहेको समाज कल्याण परिषद्मा रहेका संघ संस्थाहरूले समाजमा पछाडि परेका, सीमान्तकृत वर्गको पक्षमा काम गर्दै आएको समेत उहाँले बताउनुभयो । आगामी दिनका दिनमा अझ प्रभावकारी रूपमा सबै जनप्रतिनिधिले काम गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, ‘हामी सबै जनताको मतले जनताको काम गर्नका निम्ति निर्वाचित भएर आएका हौँ । हामीले जनताको पक्षमा बढी भन्दा बढी काम गर्नुपर्छ ।’

नेकपा एमालेका नेता मनमोहन अधिकारी प्रधानमन्त्री भएको समयमा सुरु गरिएको ज्येष्ठ नागरिक भत्ता अहिले ज्येष्ठ नागरिकहरूका लागि सामाजिक सुरक्षा भत्ताका रूपमा परिवर्तन भएको बताउनुभयो । संघमा निर्वाचित भएर गएका सांसदहरूको भूमिका केन्द्रमा नीति, निर्माण तहको जिम्मेवारी रहेको भन्दै उहाँले आफ्नो पक्षबाट जनताका निम्ति सक्ने जति बढी भन्दा बढी काम गरेर देखाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । ‘मैले सक्ने जति अधिकार, कानुनमा व्यवस्था गर्नुपर्ने विषयमा पनि काम गर्छु । सेवा दिनका लागि पनि काम गर्छु । खासगरी गाउँ गाउँमा सेवा पुर्‍याउनका लागि पनि म काम गर्नेछु । जनताको पक्षमा बढी भन्दा बढी काम गर्नका लागि पहल गर्नेछु ।’

यसैगरी मन्त्री चौधरीले ५१ प्रतिशत जनसंख्या रहेको महिलालाई ३३ प्रतिशत राजनीति सहभागिताको व्यवस्था भएपनि सामाजिक रूपमा अन्य विभिन्न सामाजिक संघसंस्थाहरूमा, सेना, प्रहरीमा अझै पनि ३३ प्रतिशत सहभागिता पुग्न नसकेको बताउनुभयो । स्थानीय तहमा न्यायिक समितिको जिम्मेवारी उपप्रमुख/उपाध्यक्षलाई दिइएको भन्दै उहाँले बजेट निर्माण प्रक्रियामा पनि उत्तिकै भूमिका हुनुपर्ने बताउनुभयो ।

देशैभरका महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरूका लागि काम गर्न कतिपय कानुनमा परिवर्तन गर्न आवश्यक रहेको भन्दै उहाँले अझै पनि महिला, अपांगता भएका व्यक्तिहरूमाथि गम्भीर प्रकृतिका अपराध हुँने गरेको बताउनुभयो ।

यसैबीच मन्त्री चौधरीले आफ्नो निर्वाचन क्षेत्रका ज्येष्ठ नागरिक, अपांगता भएका र विपन्न वर्गका परिवारलाई झुल वितरण गर्नुभएको छ । मन्त्री चौधरीले सुनसरीको गढी गाउँपालिका ६ सत्तेरझोडामा १२० त्यस्ता परिवारलाई व्यक्तिलाई झुल वितरण गर्नुभएको हो । गर्मी बढेसँगै तराईमा लामखुट्टेको टोकाइबाट बच्नका निम्ति झुल वितरण गरिएको मन्त्री चौधरीको सचिवालयले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]