
बर्जु । नेपाल शिक्षक महासंघको आयोजनामा देशभरका शिक्षकहरू हाल शिक्षा ऐन जारी गर्ने लगायत विभिन्न मागसहित करिब एक महिनादेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन्।
सोही आन्दोलनलाई निरन्तरता दिँदै बर्जु गाउँपालिकाका मातहत रहेका सामुदायिक विद्यालयमा कार्यरत स्थायी, अस्थायी, राहत, बालविकास शिक्षकहरू तथा विद्यालय कर्मचारीहरूले ऐक्यबद्धतासहित स्थानीय तहमा शान्तिपूर्ण धर्ना गरेका छन्। गाउँपालिकाको नजिकैको खुला स्थानमा पाल टाँगेर र ब्यानरसहित धर्ना गरिएको हो।
“मेरो आन्दोलन, मेरो सहभागिता; बलियो उपस्थिति, बलियो आन्दोलन; बलियो आन्दोलन, बलियो उपलब्धि” भन्ने नारासहित आज मङ्गलबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म धर्ना गरिएको र माग पूरा नभएसम्म यो कार्यक्रम जारी रहने नेपाल शिक्षक महासंघका अध्यक्ष विजयकुमार चौधरीले जानकारी दिए।
पुर्व राहत शिक्षक समिति अध्यक्ष आनन्दी चौधरीले भने, “२०३६ सालमा १० महिना, २०३८ मा १०४ दिन, र २०४१ सालमा ६ महिना आन्दोलन भएको थियो। अब हामी स्थानीय तहसम्म नआउने शिक्षकहरू पनि घरमै बस्ने होइन, जागौं, हाम्रो आन्दोलनमा सक्रिय सहभागिता जनाऔं।”
ईसीडी र विद्यालय कर्मचारीबाहेक करिब ३०० शिक्षकहरू गर्मी र घामको प्रवाह नगरी धर्नामा सहभागी भएका छन्। यद्यपि गत राति नेपाल सरकारको शिक्षा मन्त्रालय र आन्दोलनरत शिक्षक प्रतिनिधिहरूबीच वार्ता सहमति भएको भनिए पनि शिक्षकहरूले सरकारमाथि विश्वास नरहेको जनाउँदै आन्दोलन जारी राख्ने बताएका छन्।
नयाँ शैक्षिक सत्र सुरु भएको एक महिना भइसक्दा पनि आन्दोलनका कारण नयाँ भर्ना प्रक्रिया र पाठ्यपुस्तक वितरण प्रभावित भएको छ। साथै कक्षा १२ को परीक्षा सञ्चालन र एसईई नतिजा सार्वजनिक गर्नसमेत समस्या देखिएको छ। करिब ५२ लाख विद्यार्थी अध्ययनरत सामुदायिक विद्यालयको भविष्य अनिश्चित बन्दै गएकोमा सरकार वा शिक्षक कसैले पनि स्पष्ट उत्तर दिन नसकेको स्थानीयहरूले बताएका छन्।
स्थानीय तह नेपाल राष्ट्रिय शिक्षक संगठन बर्जु कार्य समितिका अध्यक्ष युवराज श्रेष्ठले भने, “विद्यार्थीप्रति हामी अझ जिम्मेवार बन्नुपर्ने अवस्था आएको छ। अब आन्दोलन मात्र होइन, समाधान खोज्न पनि हामी अघि सर्नुपर्छ।”