
देवानगञ्ज । शिक्षा पहुँचलाई समावेशी बनाउँदै अगाडि बढिरहेको देवानगञ्ज गाउँपालिकाले वडा नं. ५ को समन्वयमा अमर सिंह माध्यमिक विद्यालय, देवानगञ्ज–५ मा अध्ययनरत कक्षा आठ उत्तीर्ण गरी हाल कक्षा ९ मा अध्ययनरत ६३ जना छात्रालाई साईकल वितरण गरेको छ।
टाढाटाढाबाट विद्यालय आउनुपर्ने छात्राहरूको दैनिक आवागमनलाई सहज, सुरक्षित र समयमै सुनिश्चित गर्ने उद्देश्यले वितरण गरिएको साईकलले विद्यार्थीहरूमा हाजिरी वृद्धि, समयपालन र अध्ययनप्रति लगाव अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
साईकल वितरण एक विशेष समारोहका बीच विद्यालय परिसरमा सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहता, सभा अध्यक्ष वडा नं. ५ का अध्यक्ष मनोज मण्डल, विशेष अतिथि वडा सदस्य परमानन्द पाल तथा विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, विद्यार्थी, स्थानीय समाजसेवी र सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उक्त अवसरमा छात्राहरूलाई व्यक्तिगत रूपमा साईकल हस्तान्तरण गर्दै अतिथिहरूले शुभकामना व्यक्त गरेका थिए।
शिक्षा सुलभ र समावेशी बनाउने स्थानीय सरकारको दायित्व
गाउँपालिका अध्यक्ष श्री मेहताले कार्यक्रममा सम्बोधन गर्दै शिक्षा सबैको हक हो भन्ने मान्यताका साथ पालिका निरन्तर क्रियाशील रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “साईकल वितरण हाम्रो सामाजिक उत्तरदायित्व अन्तर्गतको प्रयास हो। यातायातका कारण पढाइमा असर नहोस् भनेर हामीले यसलाई उच्च प्राथमिकता दिएका छौं। शिक्षा पहुँच सुनिश्चित गर्न हामी सदैव तत्पर छौं।”
वडास्तरीय योजना र भविष्यको प्रतिबद्धता
कार्यक्रमको सभाध्यक्ष तथा वडा अध्यक्ष मनोज मण्डलले वडाको आफ्नै बजेटबाट कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँले भने, “छात्राहरूको शैक्षिक यात्रा सहज बनाउने उद्देश्यले यस वर्ष वडास्तरीय विकास योजनाअन्तर्गत साईकल वितरण गरिएको हो। यो कार्यक्रम आगामी वर्षहरूमा पनि निरन्तरता पाइरहनेछ।”
वडा सदस्य परमानन्द पालले साईकलले विद्यार्थीहरूको नियमितता, आत्मबल र जीवनशैलीमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै यस्ता कार्यक्रमलाई संस्थागत बनाउनुपर्ने धारणा राख्नुभयो।
विद्यार्थी र अभिभावकको सकारात्मक प्रतिक्रिया
साईकल पाउने खुशी छात्राहरूको अनुहारमा झल्किएको थियो। कक्षा ९ की छात्रा विभा कुमारीले भनिन्, “पहिले हिंडेरै विद्यालय पुग्नु पर्थ्यो। बिहान बिहानै निक्लनु पर्थ्यो, अब साईकल पाउँदा समय बचत हुनेछ। पढाइमा बढी ध्यान दिन सक्नेछु।”
एक अभिभावक बिरवल मण्डलले स्थानीय सरकारको यो कदमलाई स्वागतयोग्य र उदाहरणीय भन्दै अन्य वडाहरूमा पनि यस्तै कार्यक्रमहरू कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो।
गुणस्तरमा कुनै सम्झौता छैन
वडा कार्यालयका अनुसार साईकलहरूको खरिद गर्दा गुणस्तरीय सामग्री सुनिश्चित गर्न बजार मूल्य, प्रविधि, टिकाउपन र विद्यार्थीको उमेर समूह अनुसारको साइजमा विशेष ध्यान दिइएको थियो। वितरणपूर्व प्रत्येक साईकलको प्राविधिक परीक्षण वडा कार्यालय, विद्यालय प्रशासन र स्थानीय प्राविधिकको समन्वयमा सम्पन्न गरिएको हो।
शैक्षिक क्षेत्रको व्यापक सुधारमा पालिकाको अग्रसरता
विद्यालयका प्रधानाध्यापकले साईकल वितरण कार्यक्रममा पालिकाको सक्रियता र सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै यसले विद्यार्थीको हाजिरी दर र सिकाइ नतिजामा प्रत्यक्ष प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।
अन्त्यमा पालिका अध्यक्ष बेचन प्रसाद मेहताले शिक्षा क्षेत्रका विविध सुधार कार्यक्रमबारे जानकारी दिँदै भन्नुभयो, “गाउँपालिकाले विद्यालयमा भवन निर्माण, डिजिटल कक्षा सञ्चालन, साना बालबालिकाका लागि मोन्टेसरी प्रविधिमा आधारित बालकक्षा सञ्चालन, छात्रवृत्ति, पोषण कार्यक्रम र डिजिटल सामग्री वितरणजस्ता कार्यक्रमहरू निरन्तर अगाडि बढाइरहेको छ। हामी शिक्षा क्षेत्रमा लगानीलाई दीर्घकालीन विकासको आधार मानेर काम गरिरहेका छौं।”