
हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका- ७ कविलासा स्थित बसोबास गर्ने जियाउद्दिन अंसारीको घरभित्र पसेर मोबाईल चोरी गरेको आरोपमा एक युवक पक्राउ परेको छ।
प्राप्त जानकारी अनुसार, गत बैशाख ८ गते राति अज्ञात व्यक्तिले अंसारीको घरभित्र पसेर दुई थान मोबाईल चोरी गरेका थिए। चोरी भएको मोबाईलमध्ये एक सेमसुङ र एक रेडमी ब्राण्डको रहेको छ।
प्रहरीको सक्रियतामा चोरीको घटना भएको करिब एक हप्तापछि बैशाख १६ गते घुस्की बजारस्थित एस ए मोबाईल पसलमा चोरीको मोबाईल लिएर आएको व्यक्तिलाई मोबाईल धनीले पहिचान गरी नजिकैको प्रहारी चौकी घुस्कीहाटमा जानकारी गराएका थिए।
जानकारी पाउने बित्तिकै प्रहरी नायब निरीक्षक सुरेश यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले सोही स्थानबाट हरिनगर गाउँपालिका-७ बस्ने २० वर्षीय सजिद आलमलाई पक्राउ गरेको हो। पक्राउ परेका आलम मिकाईल मियाँ जटका छोरा हुन्।
प्रहरीले आलमलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाएको जनाएको छ। पक्राउ परेका व्यक्तिको साथबाट चोरी भएको सेमसुङ र रेडमी मोबाईल बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।